जनकपुरधामबाट सिके राउतका ६ कार्यकर्ता पक्राउ



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका स्वतन्त्र मधेस गठबन्धनका आधा दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। 

 

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुर चुरोट कारखानामा ज्ञापनपत्र बुझाउन जाँदै गरेको समयमा मुलगेटबाटै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादव रहेका छन् भने अन्य ३ जनाको नाम खुल्न सकेको छैन। 

रौतहट जिल्लाको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई रिहाइको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका उनीहरूलाई प्रहरीले गिरफतार गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनाएका छन्।

 

प्रवेशद्वारमै सुरक्षाकर्मीको सोधपुछको क्रममा आफूहरू सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएका थियो।

 

 यता पक्राउ परेका तीनै जनाको बारेमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए। प्रहरीले आफूहरूले तीन जनालाई मात्र पक्राउ गरेको भने पनि स्वतन्त्र मधेस गठबन्धनले ६ जना कार्यकर्ताहरूलाई पक्राउ गरेको दाबी गरेकाे छन्।

 

प्रतिक्रिया दिनुहोस्