जबरदस्ती करणी र कर्तव्यज्यान दुवै मुद्दा चलाइयो



जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मगरटोलमा ११ वर्षीया बालिका रेशमा भन्ने दुतिया रसाइलीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा स्थानीय एक युवकलाई पक्राउ गरिएको छ ।

बटेश्वर गाउँपालिका–४ बैगाली टोल निवासी २२ वर्षीय निरजजर्घा मगरलाई प्रहरीले त्यस घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी मगरलाई सार्वजनिक गरेको छ ।  

प्रदेश २, संघीय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले घटनाको पाँचौं दिन सोमबार साँझ भारततर्फ भाग्दै गर्दा धनुषाको विदेह नगरपालिका–२ दुहबीटोलबाट पक्राउ गरेको हो ।

पेन्टर र लेबरका रूपमा काम गर्दै आएका अभियुक्त निरज लागूऔषध सेवनकर्ता र आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

लागूऔषध र मदिरा सेवन गरी चाउचाउ र चकलेट किनदिने लोभ देखाएर ललाईफकाई बालिका दुतियालाई विवाह समारोहबाट लगेर खेतमा बलात्कार गरी हत्या गरेको र घटनाबाट बच्न शवलाई जलाएको अभियुक्त निरजले प्रहरीसमक्ष बयान दिएको प्रहरी उपरीक्षक खनालले पत्रकार सम्मेलनमा बताए ।

यही फागुन २ गते मगरटोलभन्दा पाँचसय मिटर दूरीमा रहेको एक उखु काटिएको खेतबाट आधी शरीर जलेको अवस्थामा बालिका दुतियाको शव फेला परेको थियो ।

यसरी भयो घटना

फागुन १ मा स्थानीय इन्द्र थापा मगरकीे छोरी मन्दिरा थापा मगरको बिहेमा राति साढे ८ बजे भोज खान बोल्न नसक्ने अवस्थामा रहेकी रेशमा भन्ने दुतिया परिवारसँगै गएकी थिइन् । बिहेमा नाचगानको कार्यक्रम थियो । सहभागीसँगै दुतियाले पनि नाचगान गरिन् । त्यहाँ बटेश्वरको बैगाली टोलका निरज पनि थिए । एक घन्टापछि बिजुुली गएको मौका छोपी निरजले बालिका दुतियालाई नजिककै किराना पसलबाट चाउचाउ फ्रुटी किनेर ल्याएर दिए । अनि त्यहाँबाट थप प्रलोभन देखाएर नजिककै ऊखुबारीमा लगी बलात्कार गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ ।

बलात्कारको पोल खुल्ने डरले त्यही खेतमा घाँटी थिचेर हत्या गरिदिए । गाउँलेले घटनाबारे जानकारी भए आफू पक्राउ पर्ने डरले पुनः बालिकाको शवलाई चप्पल र कपडासमेत राखेर नजिकै खेतबाट ऊखुका झारपात ल्याई त्यही जलाएर निरज भागेका थिए ।

घटनापछि निरज पुनः ११ बजे राति सो विवाह समारोहमा पुगे । खाना खाएर सोही ठाउँमा रहेको आफ्नो मामाघरमा सुत्न गए । भोलि बिहान घटना सार्वजनिक भएपछि आफन्त र नातेदार कहाँ दुईतीन बसेर त्यसपछि भारत बिहार दरभंगा बस्दै आएका बुवाकहाँ जान लाग्दा उनी दुहबीटोलबाट पक्राउ परे ।

अभियुक्त निरजका बुवा र आमाबीच राम्रो सम्बन्ध नरहेका कारण छोडपत्र भइसकेको छ । आमा काठमाडौं बस्दै आएकी छिन भने बुवा भारत बिहारको दरभंगामा बसेर लेबरको काम गर्दै आएको छ ।

निरजको बास उठिसकेपछि आफन्त र नातेदारकहाँ बस्दै आएका छन् । हरिहरपुरको मगरटोलमा उनको मामा बस्दै आएको छ । मामाकहाँ गएका बेला उनी पनि बिहाभोज खान सहभागी भएका थिए ।

अभियुक्तको अपराधिक चरित्र

आमाबुवा कसैका साथ नभएका कारण उनी लागूऔषध सेवनकर्ता र आपराधिक चरित्रको बन्न पुगेको बताइएको छ । यसअघि उनी चोरीका विभिन्न घटनामा संलग्न र ढल्केवरमा केटी जिस्काएको आरोपमा कारबाहीमा समेत परेका थिए ।

यसका साथै सार्वजनिक अपराधमा उनी प्रहरी वृत्त कालिमाटीमा कारबाहीमा परेको र सेन्ट्रल जेलमा ३ महिना कैद सजायसमेत भुक्तान गरिसकेको छ ।

कारबाही

अनुसन्धानका क्रममा प्रहरीले १९ जनालाई नियन्त्रणमा लिई छानबिन गरेको छ । सोही क्रममा निरजको नाम खुल्न आएको थियो ।

प्रहरीले नियन्त्रणमा रहेका अभियुक्त निरजमाथि बलात्कार गरी हत्या गरेको आरोपमा ‘जबरजस्ती करणी र कर्तव्यज्यानको मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्