तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा नापी सर्भेक्षक अमनकुमार झासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जग्गा किनबेच गर्दा वास्तविक थैलीभन्दा कम थैली उल्लेख गरी करिब तीन लाख रुपैयाँ सरकारी राजस्व छलेको आरोपमा अख्तियारले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सर्भेक्षक झा तथा जग्गा खरिद बिक्री गर्ने कुन्तादेवी श्रेष्ठ र राजुप्रसाद कँडेललाई मुद्दामा विपक्षी बनाएको छ । 

धरान उपमहानगरपालिका वडा नम्बर ४ का श्रेष्ठको नाममा दर्ता कायम रहेको साविक एकम्बा गाविस वडा नं. ९(ग) हाल इटहरी उमनपाको पाँचविगहा १४ कठ्ठा जग्गा पद्मार कोलोनीका कँडेलले खरिद गर्दा वास्तविकभन्दा ४५ लाख रुपैयाँ कम थैली राखेर लिखत पारित गरेको र त्यसबाट दुई लाख ९२ हजार पाँचसय रुपैयाँ सरकारी राजस्व छली भएको अख्तियारको आरोप छ । 

उल्लेखित  सरकारी राजस्व रकम हिनामिना गरेको पाइएपछि सर्भेक्षक झा र जग्गा खरिद बिक्री गर्ने श्रेष्ठ र कँडेललाई विगोबमोजिमको जरिवाना र हदैसम्मको सजाय मागदावीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाए । 

 

प्रतिक्रिया दिनुहोस्