आमा डायनाको मृत्युको सम्झनामा ‘भावविह्वल’ राजकुमार विलियमस्



काठमाडौंः ब्रिटेनका राजकुमार विलियमले आफू बाबु बनेपछि आफ्नी आमाको मृत्यु भएका बखतको दुस्खदायी समय सम्झना हुने गरेको बताएका छन् ।

राजकुमार विलियम १५ वर्षको हुँदा सन् १९९७ मा प्यारिसमा आमा डायनाको कार दुर्घटनामा ज्यान गएको थियो । श्रीमती केटबाट तीन बच्चाका बाबु बनेका ड्यूक अफ केम्ब्रिजले भने, ‘त्रासदीपूर्ण’ घटना आफू बाबु बन्दा फेरि सम्झना आउँदो रहेछ ।

उनले मानसिक स्वास्थ्यबारे बीबीसीले तयार पारेको डक्युमेन्ट्रीमा त्यसबेलाको कुरा सम्झेर आफू कैयौँ पटक ‘भावविह्वल’ बनेको बताएका छन् ।

पृथ्वीलाई पुनर्जीवन दिने कार्यमा पुरस्कार दिने विलियम र केटको घोषणा
राजकुमार विलियमले कठिन घडीहरूमा क्याथरिन र आफूले एक अर्कालाई ढाडस दिने गरेको बताए । उनले फुटबलका पूर्वखेलाडी मार्भिन सर्डेलसँग पुरुषको मानसिक स्वास्थ्य र फुटबलमा केन्द्रित कार्यक्रममा कुराकानी गरेका हुन् ।

बोल्टन वान्डरर्स क्लबका पूर्वस्ट्राइकर सोर्डेलले बाबु बनेको समय आफ्नो ‘जीवनको सबैभन्दा कठिन’ भएको बताए । उनले आफू बाबुसँग नहुर्किएकाले कैयौँ पटक आफूलाई असाध्यै गाह्रो हुने गरेको बताए ।

ड्यूक अफ केम्ब्रिजले भने,“बच्चा पाउनु भनेको साँच्नै नै जीवन नै फेरिदिने घडी हो र म तपाईँसँग सहमत छु ।“ “तपाईँ बाबुविना हुर्कनुपर्यो र म सानै छँदा मेरी आमाको मृत्यु भयो । जीवनमा कुनै अवसादपूर्ण घटना भोग्नुपरेपछि कुनै-कुनै बेला आफ्ना भावना उर्लिएर आउँछन् किनभने यो जीवनको फरक चरण हो ।“

“र त्यहाँ तपाईँलाई सहयोग गर्न कोही पनि छैन जस्तो लाग्ने गर्छ । म साँचिकै कुनै-कुनै बेला भावविह्वल हुने गर्छु ।“ त्यस्तो संवेदना पहिले नै भोगिसकेको सोचेपनि अचानक बेलाबखत आउने गरेको राजकुमार विलियमले बताए ।

बाबुआमा बन्नुको जिम्मेवारीबारे उनले भने,“यो जीवनको अद्भुत समय हो, तर डरलाग्दो समय पनि हो ।“ राजकुमार विलियम र उनका भाई ह्यारी मानसिक स्वास्थ्यसम्बन्धी अभियानमा सरिक हुने गरेका छन् र आफ्नी आमाको निधनबाट आफूलाई परेको असरबारे धेरै बोल्न थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्