कर्णालीमा मानवअधिकार उल्लंघनका ४५३ घटना 



सुर्खेत :  कर्णाली प्रदेशमा राज्यपक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ४५३ घटना भएका छन् ।

 मंगलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले घटनामा महिला बढी प्रभावित भएको  जनाएको छ । विभिन्न घटनामा ३५३ महिला तथा १४९ पुरुष पीडित भएको पाइएको छ ।

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकारसम्बन्धी घटना भएका छन् ।

महिला अधिकारसम्बन्धी २५७, बाल अधिकारसम्बन्धी ८७ र कुटपिटका ४७ घटना भएको छ । ती घटनामा छ जना घाइते, अमानवीय व्यवहारबाट चारजना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ ।

मानवअधिकारको बाधक मदिरा

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानवअधिकार उल्लंघनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको कार्यान्वयन मात्र गर्न सकेमा धेरै हदसम्म हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार उल्लंघनको अवस्था भयावह रहेको भन्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु मानवअधिकार हननको घटना भएकाले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्