ट्रम्पविरुद्ध १६ राज्यले दायर गरे मुद्दा



वासिंगटन: अमेरिकाका विभिन्न १६ वटा राज्यहरुको समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चलाउने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि खर्च जुटाउन भन्दै गत साता संकटकालको घोषणा गरेपछि त्यसको विरोधमा रहेका क्यालिफोर्निया नेतृत्वमा रहेका १६ वटा राज्यले मुद्दा दर्ता गराएका हुन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल निर्माण गर्नका लागि ५.७ बिलियन डलर खर्च जुटाउनका लागि गत शुक्रबार देशमा संकटकालको घोषणा गरेका थिए । यी राज्यहरुले संकटकाल लगाएर राष्ट्रपतिले शक्तिको दुरुपयोग गरेको बताएका छन् । विपक्षी डेमोक्रेटिक पार्टीले पर्खाल निर्माणका लागि बजेट दिन अस्वीकार गरेपछि ट्रम्पले संकटकाल लगाएर खर्च जुटाउन लागेका हुन् । बजेट अभावमा अमेरिकी संघीय कार्यालयहरु पुनः ठप्प हुने अवस्था आउनुअघि ट्रम्पले सो कदम चालेका हुन् ।

यसअघि बजेटका विषयमा सहमति बन्न नसक्दा एक महिनाभन्दा लामो समय अमेरिकी संघीय सरकारी कार्यालयहरु बन्द भएका थिए । ट्रम्पले आफूले संकटकाल घोषणा गर्न नचाहेको भएपनि चुनावी प्रतिबद्धताअनुसार सीमा क्षेत्रमा छिटोभन्दा छिटो पर्खाल निर्माण गर्नका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेका छन् । विश्लेषकहरुले भने ट्रम्पको यो तर्कले कानुनी तर्कलाई कमजोर बनाउने तर्क गरेका छन् ।

१६ वटा राज्यले दायर गरेको सो मुद्दामा संकटकाल घोषणा गर्ने कदम फिर्ता गर्न माग गरिएको छ । यद्यपि पर्खाल बनाउने परियोजनामा भुक्तान गर्न कंग्रेसले गरेको अनुमोदित खर्च रद्द गर्ने शक्ति छैन । मुद्दामा संकटकाल लगाउने ट्रम्पको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको तथा राष्ट्रपतिले घोषणा गरेको संकटकाल अनावश्यक भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्