जोर्ज फ्लोइड मृत्यु प्रकरण: हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू



एजेन्सी : जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ।

देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले “लुटेरा र अराजकहरू”ले हिंसा फैलाएको आरोप लगाएका छन्। गत सोमवार मिनीयापलिसमा अफ्रिकी अमेरिकी समुदायका ४६ वर्षीय फ्लोइडलाई प्रहरीले समातेपछि उनले ज्यान गुमाएका थिए।

डेरेक शौभिन नामक ४४ वर्षीय पूर्वप्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको छ। उनी घटनापछि पदमुक्त भएका थिए। उनलाई सोमवार अदालतमा पेस गरिनेछ।

इन्टरनेटमा भाइरल बनेको एउटा भिडिओमा शौभिनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देखिन्छ। फ्लोइडले बारम्बार आफूलाई सास फेर्न गाह्रो भएको बताएको पनि सुनिन्छ।

घटनास्थलमा उपस्थित अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन्।

कहाँ के भयो?

अमेरिकाका कम्तीमा ३० वटा सहरमा ठूला प्रदर्शनहरू भए। शिकागोमा प्रदर्शनकारीहरूले दङ्गा प्रहरीलाई ढुङ्गा हाने। प्रत्युत्तरमा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो।

त्यहाँ शनिवार केही मानिसहरूलाई पक्राउ गरिएको छ।

लड एन्जलीसमा प्रहरीले भिड तितरबितर पार्न रबरको गोली प्रहार गर्‍यो। प्रदर्शनकारीहरूले बोतल प्रहार गरे तथा प्रहरीका गाडीमा आगो लगाइदिए।

प्रहरीका क्षतिग्रस्त सवारीसाधनमाथि मानिसहरू उभिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

वाशिङ्टन डीसीमा दोस्रो दिन पनि ठूलो भिड राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर भेला भयो।

एट्लान्टामा शुक्रवार भवनहरूमा तोडफोड भएपछि केही क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ।

मिनीयापलिस, न्यूयोर्क, माईयामी, एट्लान्टा र फिलडेल्फीयामा हजारौँ मानिसहरूले जुलुस निकाले। मिनीयापलिस, एट्लान्टा र फिलडेल्फीया, लस एन्जलीस, पोर्टल्यान्ड, लूईभिल तथा अन्य सहरमा रातभरि लागु हुनेगरी कर्फ्यू घोषणा गरियो।

तर केही सहरमा प्रदर्शनकारीले निषेधाज्ञा उल्लङ्घन गरेका छन्। धेरै ठाउँमा लुटपाट भएको छ। मिनिसोटामा न्याश्नल गार्ड नामक अतिरिक्ष सैन्य बललाई शुक्रवार रातिदेखि परिचालित गरिएको छ। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्