च्याम्पियन्स लिगमा एट्लेटिको र म्यानचेस्टर सिटीको जित



म्याड्रिड: च्याम्पियन्स लिगको आज बिहान भएको खेलमा एट्लेटिको म्याड्रिड र म्यानचेस्टर सिटीले जित हात पारेका छन् । अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन सिरिए च्याम्पियन युभेन्ट्सलाई २-० गोलले हरायो । इङ्लिस क्लब म्यानचेस्टर सिटीले भने जर्मन प्रतिद्वन्द्वी साल्केमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । घरेलु मैदानमा खेलिएको खेलमा ६ मिनेटको बीचमा लगातार दुई गोल गर्दै एट्लेटिको म्याड्रिडले नतिजालाई आफ्नो पक्षमा पारेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा ७८औं मिनेटमा एट्लेटिको म्याड्रिडका लागि होजे मारिया जिमेन्जले पहिलो गोल गरेका थिए । अल्भारो मोराटाको हेड प्रहारलाई मारियो मान्जुकिचले गोल हुनबाट जोगाएपछि सोही अवसरको फाइदा उठाउँदै जिमेन्जले टोलीका लागि गोल गरेका थिए । यसैगरी ८३औं मिनेटमा डिएगो गोडिनले अर्को गोल थप्दै प्रशिक्षक डिएगो सिमोनको टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । क्रिस्टियाो रोनाल्डोसँग ठोक्किएर आएको बललाई सदुपयोग गर्दै गोडिनले टोलीका लागि दोस्रो गोल गरेका हुन् । 

त्यसअघि एट्लेटिको म्याड्रिडको एउटा पेनाल्टी र मोराटाले गरेका एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अयोग्य घोषित गरेको थियो । जितसँगै एट्लेटिको म्याड्रिडले प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । क्वार्टरफाइनलको दोस्रो लेग खेल आगामी मार्च १२ तारिखमा युभेन्ट्सको घरेलु मैदानमा खेलिने छ । क्वार्टरफाइनलमा पुग्न युभेन्ट्सले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने भए पनि घरेलु मैदानको फाइदा भने रहने छ ।

म्यानचेस्टर सिटीले भने जर्मन क्लब साल्केलाई उसैको घरेलु मैदानमा हराएको हो । खेल सुरु भएको १८औं मिनेटमै सर्जियो एग्वेरोले म्यानचेस्टर सिटीका लागि पहिलो गोल गरेका थिए । ३८औं मिनेटमा साल्केका नबिल बेन्टालेबले पेनाल्टीमार्फत जवाफी गोल फर्काएपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि नबिलले पेनाल्टीमार्फत नै अर्को गोल थपेपछि साल्के २-१ ले अगाडि बढेको थियो । ६८औं मिनेटमा निकोलस ओटामेन्डी लगातार दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा समेटिएको थियो । त्यसअघि उनले ३७औं मिनेटमा पहिलो कार्ड पाएका थिए ।

दुबै टोलीका खेलाडी कलात्मक खेलभन्दा पनि शारिरीक घम्साघम्सीमा बढी ओर्लिएका थिए । त्यसैले खेलका क्रममा रेफ्रीले एकपछि अर्को कार्डको प्रयोग गर्नु परेको थियो । ८५औं मिनेटमा लेरोय सानेले गोल गर्दै म्यानचेस्टर सिटीलाई २-२ को बराबरीमा ल्याएका थिए । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा अन्तिम समयमा रहिम स्टर्लिङले निर्णायक गोल गर्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित दिलाएका थिए । प्रतियोगिताको दोस्रो लेग खेल मार्च १२ तारिखमा म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिने छ ।

च्याम्पियन्स लिगमा खेलिएका जर्मन प्रतिद्वन्द्वीविरुद्घका पछिल्ला आठ खेलमा म्यानचेस्टर सिटी अपराजित रहँदै आएको छ । पछिल्ला आठमध्ये सात खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक च्याम्पियन्स लिगमा सन् २०१४ को सेप्टेम्बरमा जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीलाई १-० गोलले हराएको थियो ।

युरोपियन प्रतियोगितामा यसअघि घरेलु मैदानमा खेलिएका लगातार नौ खेलमा साल्के विजयी हुँदै आएको थियो । १०औं खेलमा आएर घरेलु मैदानमा साल्केको अपराजित यात्रा पनि टुंगिएको छ । पछिल्लो पटक साल्केलाई घरेलु मैदानमा सन् २०१६ को फेब्रुअरीमा साख्तर डोनेस्कले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्