प्रदेश सरकारद्वारा कोरोना कोषबाट विभिन्न अस्पताललाई ८ करोड २३ लाख



जनकपुरधाम– कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको कोरोना कोषबाट प्रदेशका विभिन्न अस्पतालहरुले हालसम्म ८ करोड २३ लाख २५ हजार रकम प्राप्त गरेको छ ।

प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पतालको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो ।

पछिल्लो चरणमा कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालहरुमा पर्सा जिल्लास्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा१० लाख, कोरोना संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी जम्मा ३७ लाख, रौतहट जिल्ला स्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्थापन तर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ लाख, पीपीइ र सेनीटाइजर खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी जम्मा ५६ लाख रुपैयाँ पठाएको छ ।

त्यसैगरि सर्लाही जिल्लास्थित मलंगवा अस्पताल र मातहत रहेका कोभिड अस्पतालका लागि औषधि खरिद तर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, मेशिनरी औजार उपकरण खरिदका लागि २ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ४ लाख, कार्यालय सामग्री र ईन्धनका लागि १–१ लाख, सवारी साधन भाडामा लिन १ लाख, आइसोलेशन भवन मर्मत संभारका लागि १ लाख, संचार महसुल २५ हजार र पानी तथा विद्युत महसुल ५० हजार गरी जम्मा ४० लाख ७५ हजार रुपैयाँ पठाएको छ भने सप्तरी जिल्लास्थित भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर फिक्सचर तर्फ २५ लाख, शौचालय निर्माण तर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङ्ग तर्फ ५ लाख गरी जम्मा २ करोड ९० लाख रुपैयाँ पठाइएको बताइएको छ ।

यता सिरहा जिल्लास्थित सिरहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरिद तर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरिदका लागि ५ लाख, बेड सेट एवं फर्निचर खरिदका लागि ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्वाधार विकास तर्फ १० लाख गरी जम्मा ६५ लाख र सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड लेभल(१ अस्पताल मा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले यसअघि उपचार कोषबाट राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार, कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार र नारायणी उपक्षेत्रीयअस्पताल विरगंजलाई खाद्यान्न खरिदका लागि २५ लाख तथा पिसिआर मेसिन सञ्चालनका लागि ५० लाख गरि तीन करोड ९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्