चिकित्सकमाथि भएको कुटपिटको विरोधमा जनकपुरका चिकित्सकहरु आन्दोलित



जनकपुरधाम– नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा जनकपुरका चिकित्सक विरोधमा उत्रिएका छन् ।

नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सक माथी हातपात भएको भन्दै प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक भवन अगाडि युवा चिकित्सकहरुले कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गरेका हुन् । घटनाको दोषीलाई तत्काल कारबाही हुनुपर्ने माग गर्दै एक्यवद्धता स्वरुप सांकेतिक बिरोध प्रदर्शन गरिएको नेपाल चिकित्सक संघ जुनियर डाक्टरका प्रदेश २ का अध्यक्ष डा.सज्जन ठाकुरले जानकारी दिए ।

उनले भने,‘जनकपुरका जुनियर युवा डाक्टरहरुद्वारा चिकित्सक माथी भएको घटनाको बिरोधमा एक्यवद्धता जनाउँदै हामीले कालोपट्टी बाँधेर सांकेतिक बिरोध जनाएका छौं ।’

जेठ १४ गते नेपाल मेडिकल कलेजमा ६४ वर्षीया एकजन महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकलाई गालीगलौज गर्दै हातपात समेत गरेका थिए ।

विरोध प्रदर्शनमा चिकित्सकहरुले ‘जेल विदाउट बेल,चिकित्सको आत्मसम्मानको रक्षा गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । बिरोध कार्यक्रममा डा.संजय यादव, डा.अमित गिरि,डा.सुनिल यादव,डा.रमेश यादव,डा.उज्जवल विश्वास लगायत दर्जनौं चिकित्सकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्