चेकजाँचमा भारतले गर्‍यो कडाई, वीरगन्जको नाकामै भारतीय नागरिक अलपत्र



वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा हजारौँ भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगन्ज आएका भारतीयलाई पर्साका स्थानिय प्रशासनले जेष्ठ १३ गतेदेखि भारतीय प्रहरी प्रशासनसँग समन्वय गरेर भारत पठाउँदै आएको छ ।

सोमबार भारतीय अधिकारीले १ हजार भन्दा बढी आफना नागरिकलाई भारत प्रवेश गर्न दिएका छन् । स्थानिय प्रशासनको दबाबमा नै भारतीय अधिकारीले ५ सयबाट बढाएर दैनिक एकहजार भन्दा बढी भारतीयलाई प्रवेश गर्न दिएको आईसिपी सुरक्षामा खटेका सशस्त्र प्रहरी निरिक्षक स्वर्ण पोखरलेले बताए ।

भारत प्रवेश गर्न भारतीयहरु तछाडमछाड गरेपछि आईसिपी गेटमा खटेका प्रहरी तथा भारतीय अधिकारीलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । डियुटीमा रहेका सशस्त्र प्रहरीले लठीले नियन्त्रणमा लिन खोजेपनि तीनचार दिनदेखि भोक प्यासले आतिएका उनीहरु आफनो देशमा प्रवेश गर्न आतुर नै बनेको देखियो ।

आईसिपी क्षेत्रमा हजारौ भारतीय नागरिक अहिले पनि अलपत्र परेको अवस्थामा छन । भारतीय अधिकारीले व्यवस्था गरे अनुसार दैनिक एक पल्ट मात्र उनीहरुलाई प्रवेश गर्न दिएका छन् । आईसिपी क्षेत्रमा अलपत्र अवस्थामा छोडिएका भारतीय नागरिकलाई दैनिक खान, बस्न पनि समस्या भईरहेको छ । प्रशासनले खानको व्यवस्था नगरेपछि स्थानियले उपलब्ध गराएको खाना उनीहरुले खादै आएका छन् ।

स–साना बच्चा सहित, महिलाहरु पनि आईसिपी भंसार क्षेत्रमा जतातै बसेको छन । बस्नको लागि निश्चित स्थानको व्यवस्था नगरेका कारण अलपत्र परेका उनीहरुलाई आईसिपीको मुख्य सडकमै चर्कोघाम, हावाहुरी तथा पानी परीरहेको अवस्थामा समेत बस्न बाध्य छन् । बर्षाआउँना साथ लुक्न पनि समस्या भईरहेको अलपत्रमा रहेका भारतीय नागरिकहरुले गुनासो गरेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन आज ६९ औं दिन पुगेको छ । लकडाउनले प्रभावित भएका देशको विभिन्न शहरमा मजदुरी गर्दै आएका भारतीय नागरिक घर फर्कन लागेका हुन् ।

लकडाउनमा सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द भएपछि ४÷५ दिनसम्मको पैदल यात्रा तयगरी वीरगन्ज आईपुगेका उनीहरु भारत प्रवेश गर्न नदिएपछि आईसिपी गेट अगाडी नै अलपत्र परेका छन् ।

‘हामी चारदिन काँखे बच्चालाई बोकेर पैदल यात्रा गरी वीरगन्ज आईपुगेका छौ । न राम्रो संग खान पाएको छ, न सुत्न नै पाएको छ, हामी जसरी भएपनि आफनो घर फर्कन चाहन्छौं’– भारत बिहार दरभंगाका एक महिलाले आफनो पिडा पोखिन् ।

भारतीय प्रशासनले पहिलो दिन अथार्थ जेष्ट १३ गते सुरुवातीमा ३ सय ८८ जनालाई मात्र प्रवेश गर्न दिएका थिए । त्यसपछि निरन्तर ६ सय देखि १ हजार सम्म दैनिक रुपमा भारत प्रवेश गर्न दिएको सशस्त्र प्रहरी निरिक्षक पोखरेलले बताए ।

अहिले सम्म भारतले ६ हजार ३ सय आफनो नागरिकलाई वीरगन्ज नाकाबाट प्रवेश गराएका छन । सोमबार मात्र १ हजार ४ सय ४० जना भारतीय नागरिकलाई भित्रियाएको उनले बताए । उनले भने– ‘अहिले पनि हजारौ भारतीय आईसिपी अगाडी अलपत्र अवस्थामा छन् । भारतीय अधिकारीले अब मंगलबार मात्र प्रवेश गर्न दिन्छन् ।’

घर फर्कने क्रममा आइसीपी नाकामा आइ पुगेकाहरुलाई अलौंका स्थानीयवासीले गाउँ घरमा सहयोग संकलन गरेर र दाताहरुसँग जिन्सी सहयोग लिएर खाना र बासको व्यवस्थापन गर्दै आएका छन । तर आज आइसीपीमा रोकिएका भारतीयहरु १ हजार भन्दा बढि रहेको र अब खानाको लागि खाद्यान्न पनि नभएकाले स्थानियले खाना खुवाउने अवस्था नरहेको उनले बताए ।

भारतीय अधिकारीले नै आजदेखि तयारी अवस्थामा खाना ल्याएर खुवाउँने भारतीय अधिकारीले जनाएको उनले बताए । आईसिपीमा रोकिएका भारतीय गाउँसँगै जोडिएको आइसीपीको सडकमा बसिरहरेकाले त्यसले कोरोनाको संक्रमण फैलने हो कि भन्ने त्रास पनि अलौंका स्थानीयमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्