खेर गयो तरकारी



धनगढी : धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् । लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताए । बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ ।

“बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उनले भने, “त्यसैमा तीन÷चार दिनको वर्षाका कारण झन् नोक्सानी भएको छ ।”

साना तथा ठूला होटलमा चाउमिन, मःमलगायतका परिकार बनाउन प्रयोगमा आउने बन्दा त पूरै किराले खाएर तथा कुहिएर सखाप भएको उनले बताए । “यस वर्ष अन्य वर्षभन्दा बारीमा तरकारी एकदमै राम्रो उत्पादन भएको थियो, व्यवसाय निकै फाइदामा जान्छ भन्ने आश गरेको थिएँ, तर परिणाम ठीक उल्टो हुन पुगी व्यवसायमा घाटा बेहोर्नुप¥यो”, उनले भने ।

वरिपरिका स्थानीय ग्राहक फुटकर तरकारी किन्न बारीमा आउने गरेको भए पनि त्यो बिक्रीले खासै फरक नपर्ने उनको भनाइ छ । बन्दाबन्दीअघिका दिनमा क्विन्टलका क्विन्टल तरकारी बजार जाने गर्दथ्यो तर आजभोलि थारै मात्राको बिक्रीले ठूलो परिमाणमा उत्पादन भएको तरकारी त्यत्तिकै खेर गएको हो ।

“तीन बिघाभन्दा बढी जमीन भाडामा लिई प्रत्येक वर्ष धान र गहुँ गरी दुई सिजन गरेर साहुलाई जमीनको भाडा तिर्ने गर्दर्थेँ तर यसपालि त भाडा तिर्न त परै जाओस् परिवार, बालबच्चा पाल्नसमेत मुस्किल भइरहेको छ”, उनले भने । विगत लामो समयदेखि व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका अहमदले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्