जेठ २५ सम्म कर तिर्न उद्योगी र व्यवसायीलाई सरकारको ताकेता



काठमाडौं : सरकारले जेठ २५ गतेसम्म आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न उद्योगी तथा व्यवसायीलाई ताकेता गर्न शुरु गरेको छ ।

लकडाउनकै बीच सरकारले सार्वजनिक सूचना नै जारी गरेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दवाव दिन शुरु गरेको हो ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो ।

१४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५ सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ।

३० जेठमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउँदै ३२ जेठसम्म पुर्याएको छ भने सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन ।

बरु आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

लकडाउन लम्बिदै जाँदा करदाता बैंक वा कर कार्यालयसम्म पुग्न सकेका छैनन् । यस अवधिमा आर्थिक गतिविधि प्रायः ठप्प छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने उद्योगी तथा व्यवसायीहरुको माग छ ।

यता जेठ पछि करहरुको विवरण बुझाउने र कर तिर्ने समय थप नगरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले दुई महिना समय दिएको र अब पनि कर उठाएनौं भने हिसाव–किताव मिलाउन गाह्रो हुने बताएका छन् ।

‘यो महामारी कहिलेसम्म हो । भएका कारोबार र आम्दानीको कर अब तोकिएको मितिमा बुझाउनै पर्छ । नत्र नियमअनुसार लाग्ने ब्याज र जरिवाना लिन्छौं ।’ प्रवक्ता खत्रीले भने ।

आन्तरिक राजस्व विभागका विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ–फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद जेठ २५ सम्म छ ।

प्रतिक्रिया दिनुहोस्