लकडाउनको नयाँ खाका तयार, उच्चस्तरीय समितिको बैठक बस्दै



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएको क्षेत्रमा लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) र मुख्यसचिव नेतृत्वको एम्सन टिमले लकडाउनको नयाँ मोटालिटी तयार पारेको हो ।

सीसीएमसी सचिवालय र मुख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो ।

कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग र कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ ।

यसको छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायालय स्रोतका अनुसार नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने छ ।

स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ ।

समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्काल खुकुलो बनाउन नहुने पक्षमा उभिएपछि मन्त्रिपरिदले जेठ २० मा सकिने लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याएको हो ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्