विश्वकप छनोट : नेपालद्वारा युएई ७ विकेटले पराजित



काठमाडौं: महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको हो । युएईले यसअघिका तीन खेलमा लगातार जित हात पारेको थियो। हारपछि पनि युएई ६ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमै छ। नेपाल भने ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

बैंककमा भएको खेलमा युएईले दिएको ४२ रनको झिनो लक्ष्यले नेपालले १०.३ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टायो। नेपालका लागि ओपनर काजोल श्रेष्ठले १५ रन जोडिन्। उनले २५ बलमा २ चौका हिर्काइन्। अर्की ओपनर सीता रानामगर ६ रनमा आउट भइन्। लगत्तै डेब्यू खेलाडी अप्सरी बेगम खाता नै खोल्न नपाइ आउट भइन्। यस्तै कप्तान रुबिना क्षेत्री बेलबासेले १७ बलमा नटआउट १८ जोड्दा नेपालले छिटै लक्ष्य भेट्टाएको थियो। रुबिनाले २ चौका र १ छक्का हिर्काइन्। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई १७.३ ‌ओभरमा ४१ रनमै अलआउट भयो। युएईका लागि चामानी सेनेविररत्नाले सबैभन्दा बढी १३ रन जोडिन्। नेपालकी नेरी थापाको बलमा आउट हुनुअघि उनले २९ बलमा १ चौका प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

युएईको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा नेपालकी नेरी थापाले ४ विकेट लिइन्। उनले ३.३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिइन्। सीता रानामगर, कविता कुवँर र सोनु खड्काले २–२ विकेट लिए। नेपालले युएईको सुरुवाती ४ विकेट पहिलो ६ ओभरमा लिँदा ११ रन मात्र दिएको थियो। जसकारण युएई सुरुमै दबाबमा आयो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो। अब नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्