नेकपा कार्यदल विघटन, सचिवालयले आफै एकता टुंगो लगाउने



काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन गरेको छ । अब शीर्ष नेताहरु सम्मिलित सचिवालयले नै सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा प्रस्तुत गर्नेछ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले कार्यदलको म्याद थप नगरी विघटनको निर्णय गरेको हो ।

बिहीबारको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदन टुंग्याउन एक साता समय माग गरेका थिए ।

बादलको मागमा कार्यदलका बहुमत सदस्यहरुले समर्थन जनाएका थिए  । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीकै प्रस्तावअनुसार शुक्रबार सचिवालय बैठकले कार्यदल विघटनको निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्यो । अब प्रस्ताव सचिवालयले आफै तयार गर्ने र स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ ।’

बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहको फरक मतका बाबजुद सचिवालयले कार्यदल विघटन गरेको हो ।कार्यदलमा संयोजक थापासहित सदस्यमा पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, बर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र वेदुराम भुसाल रहेका थिए । 

यसैबीच कार्यदलका केही सदस्यहरुले आफ्ना फरक मतसहित लिखित प्रतिवेदन तयार पारेर अध्यक्षद्वयलाई बुझाउने भएका छन् । संयोजक बादल र महासचिव विष्णु पौडेलका कारण कार्यदलले काम गर्न नसकेको आरोप लगाएका । कार्यदलका सदस्य योगेश भट्टराईले भने, ‘हामीलाई काम गर्न दिइएन कार्यदलका संयोजक बादल र महासचिव पौडेलको निष्क्रियता र अकर्मण्यताले काम नभएको हो, कार्यदल भंग भएकोमा दुःख लागेको छ। लिखित रूपमा अध्यक्षद्वयलाई फरक प्रतिवेदन बुझाउने हाम्रो तयारी छ।’

 

प्रतिक्रिया दिनुहोस्