दाङका कोरोना संक्रमित युवकलाई निमोनिया, अवस्था चिन्ताजनक



दाङः दाङका कोरोना संक्रमित एक युवालाई निमोनिया भएपछि अवस्था चिन्ताजनक भएको छ ।

जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङको बबई गाउँपालिका-६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताएका छन् ।

उनलाई बेलझुण्डीबाट मंगलबार बुटवलस्थित कोरोना अस्पताल रिफर गरिएको थियो । बिरामीको अवस्था चिन्ताजनक रहेको छ ।‘कोरोनाको सिम्प्टोमेटिक लक्षणमा निमोनिया देखिएको छ,’ उनले भने, ‘यो गम्भीर केस हो ।’ संक्रमित युवाको आईसीयूमा राखेर उपचार भइरहेको र श्वासप्रश्वासमा सहजताका लागि अक्सिजन दिएको डा.थापाले बताए ।

बिरामीलाई दाङमा ज्वरो धेरै आएपछि जाँच गर्दा डेंगुको संक्रमण पनि देखिएको थियो । बुटवलमा एक्सरे गर्दा निमोनिया पनि देखिएको उनले बताए । गत जेठ ११ गते भारतको गुजरातबाट आई १ रात तुलसीपुरको क्वारेन्टाइनमा बसेका उनी र उनका ३ साथी १२ गते बबई गाउँपालिकाको हापुरेस्थित क्वारेन्टाइनमा पुगेका थिए ।

जेठ १७ गते कोरोना पुष्टि भएका ती व्यक्तिका ३ जना साथीको पहिलो रिपोर्ट नेगेटिभ आएको र दोस्रो रिपोर्टका लागि बुधबार परीक्षण गरिने बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्