प्रदेश २: संक्रमितको संख्या पुग्यो ९६१,उपचार पश्चात निको भएर १२२ जना घर फर्के



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय २ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा १२ जना, धनुषा जिल्लामा ६ जना, महोत्तरी जिल्लामा ३ जना, सर्लाही जिल्लामा ३ जना, रौतहट जिल्लामा ६५ जना, बारा जिल्लामा १२ जना र पर्सा जिल्लामा १ जना व्यक्तिहरुमा संक्रमण पुष्टी भएको हो । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ९ सय ६१ पुगेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा १२ र १७ बर्षका किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सप्तरी जिल्लाकै हनुमाननगर डाक्नेश्वरी नगरपालिकामा १७ बर्षका किशोर सहित १८ देखि ४८ बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरु सबै छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरले बताए ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा ३० बर्षीया एक महिला सहित थप ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित महिला प्रदेश २ को एकजना राज्यमन्त्रीको सहयोगी र पुरुषहरु प्रदेशसभाका मर्यादापालक रहेको उनले जानकारी दिए ।
महोत्तरी जिल्लाको भंगाहा नगरपालिकामा १९ बर्ष देखि ३६ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । महोत्तरीमा पुष्टि भएका तीनै जना छिमेकी मुलुक भारतबाट आएका थिए ।

सर्लाही जिल्लाको धनकौल गाउँपलिकामा १९ तथा ४० बर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै रामनगर गाउँपालिकामा पनि २० बर्षिय एक जना पुरुषमा संक्रमणको पुष्टि भएको उनले बताए ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा ८ र ९ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ४५ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका ३४ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गजुरा नगरपालिका उमेर नखुलेका २ जना तथा ६ बर्षिय र १२ बर्षिय बालक सहित अन्य ६ जनागरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्लाकै गढीमाई नगरपालिकामा ३ जना पुरुष, बिसरामपुर गाउँपालिकामा १ जना पुरुष, र रौतहटकै गम्हिरिया हेल्थ पोष्ट तथा धोबिनियामा ६ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको सचिव घिमिरले बताए ।

बारा जिल्लाको महागढीमाई नगरपालिकामा २ जना, कोहल्वी नगरपालिकामा १ जना, बीश्रामपुर गाउँपालिकामा १ जना र आदर्शकोतवाल गाउँपालिकामा ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सा जिल्लास्थित पोखरिया नगरपालिकामा समेत १ जना पुरुषमा संक्रमण पुष्टि भएको सचिव घिमिरले जानकारी दिए ।

बिहीबारसम्म १८ हजार ८ सय ९३ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा ९ सय ६१ जना संक्रमित भएका छन् भने १० हजार ७ सय ६३ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै ७ हजार १ सय ६९ जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ८ हजार ५ सय ७० जनाको परीक्षण गरिएकोमा १ सय ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ८ हजार ४ सय २ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए । यस प्रदेशमा आज (बिहीबार) मात्रै १ हजार ३ सय ६४ जनाको स्वाब संकलन र ८ सय २३ जनाको आरडिटी परिक्षण गरिएको सचिव घिमिरेले जानकारी दिए ।

प्रदेशमा संक्रमित ९ सय ६१ मध्ये सबैभन्दा बढि रौतहटका ३ सय ८४ जना रहेका छन् । त्यस्तै १ सय ४९ जना सर्लाहीका,१ सय १४ जना पर्साका,८८ जना धनुषाका,६९ जना सप्तरीका,६७ जना बाराका,४७ जना सिरहाका र ४३ जना महोत्तरीका व्यक्तिहरु छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार १ सय १९ बेड क्षमताको ४ सय ११ वटा क्वारेन्टाइनमा अहिले २२ हजार ९ सय ६१ जनालाई राखिएको छ भने ७ हजार १५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार १ सय २८ बेड क्षमताको आईसोलेशनमा ५ सय ९९ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।

यस प्रदेशमा हालसम्म सप्तरीका १ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका १ जना, रौतहटका ३ जना, बाराका ९ जना, पर्साका ९६ जना र अन्य जिल्ला घर भई यस प्रदेशमा बसोबास गरिरहेका नागरिक तथा भारतीय नागरिकहरु ५ जना गरि १ सय २२ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्