चीनमा फेरि कोरोना संक्रमित भेटिए, बेइजिङका उडान र रेलसेवा रद्ध



एजेन्सी : कोरोना भाइरसको उद्गम स्थलको रुपमा चिनिएको चीनमा केही समयअगाडि कोरोना भाइरस संक्रमितहरु नभेटिएपछि लकडाउन खोलिएको थियो भने पुनः पहिलेकै अवस्थामा बजार सुचारु भएका थिए ।

तर, पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

चीनको राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउँदै दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ ।

बेइजिङका सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्