बीपीका उपकुलपति बर्खास्त



विराटनगर : पटक–पटक विवादमा तानिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार पदच्यूत भएका छन् । पदको दुरुपयोग गरेको र प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको निर्देशन अवज्ञा गरेको भन्दै उनलाई बर्खास्त गरिएको हो ।

प्रतिष्ठानको आज बसेको ४२ औं सिनेट बैठकले रौनियारलाई पदच्यूत गर्ने निर्णय गरेको छ भने शिक्षाध्यक्ष गुरुप्रसाद खनाललाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा सहकुलपति रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेर रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

रौनियारले यसअघि दुई पटक सिनेट बहिस्कार गरेका थिए । रौनियारले आफू अन्यायमा परेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्