नक्कली कागजपत्र पेश गरेर राष्ट्रिय वाणिज्य बैंकबाट १ करोड २५ लाख ऋण लिएको खुलासा



काठमाडौं : नेपालगञ्जस्थित राष्ट्रिय वाणिज्य बैंकबाट १ करोड २५ लाख रुपैयाँ अनियमितता भएको खुलासा भएको छ ।

सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिदसहितका नक्कली कागजपत्र बनाएर ऋण लिएको भेटिएको हो । यता बाँके प्रहरीले नेपालगञ्जका जसगढलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट व्यवसायी रिजवान अहमद जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरि १ करोड २५ लाख ऋण लिएका थिए ।

व्यवसायी जसगढले ऋणका लागि धितोको रुपमा पेश गरेका कागजपत्र रुजु गर्न नेपालगञ्ज उपमहानगरपालिकामा पठाउँदा नक्कली भएको खुलेको हो । सरकारी छाप, कागजपत्र र कर्मचारीको दस्तखत समेत किर्ते गरेको पाइएपछि नेपालगञ्ज उप महानगरपालिकाकाले छानविनका लागि प्रहरीमा पठाएको हो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा धितोको रुपमा बैंकमा पेश गरेका ४ वटामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र एउटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको भेटिएको छ । व्यवसायी जसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख मात्रै भएको तथ्य खुलेको छ । यी व्यवसायीले अन्य ६ वटा बैंकमा पनि कारोबार गरेको पाइएको छ । ति बैंकमा पेश गरेका कागजपत्र पनि नक्कली हुनसक्ने प्रहरीको आशंका छ ।

नक्कली र किर्ते कागज बनाएर बैंकबाट ऋण लिएको अभियोगमा जसगढ पक्राउ परेपछि नेपालग ञजका सुनचादी व्यवसायीमा अहिले खैलाबैला मच्चिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा एकपछि अर्को गर्दै १९ वटा नक्कली कागजपत्र फेला पारेको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयले पनि यसबारे छानविन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्