दशैंपछि मन्त्रिमण्डल हेरफेरको संकेत



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

 

नेता बस्नेतले दशैंलगत्तै सरकारल केही लोकप्रिय कार्यक्रम ल्याउने पनि जानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’

 

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनता खुशी छन् ।’

 

संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए । उनले भने,‘प्रदेश सरकार चलाउन पनि अप्ठ्यारो छ । केही मन्त्रीका कारण सरकार साख गिरेका कारण प्रधानमन्त्री ओलीले यसअघिदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने संकेत गर्दै आएका थिए ।  

 

वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि एकदमै गलत रहेको बताए । उनले भने,‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’ 

 

२ नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारीपनि विस्तारै घट्दै जाने उनले सुनाए । उनले भने,‘असमझदारी घटाउनेतर्फ सरकारले उचित ध्यान दिएको छ । तर, आज यो भन्दा डरलाग्दो विषय के हो भने मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौति दिने गरेर एकातिर सीके राउतका गतिविधि र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहको गतिविधि भएका छन् । त्यस्ता खालका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दाखेरी त्यो गरेबापत राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालय, यो कुरा चाहीँ आज समिक्षाको विषय हो भन्ने मलाई लाग्छ ।’

 

बस्नेतले अतिवादीले अहिले वर्तमान सरकारको मुल्यांकन गरिरहेको पनि स्पष्ट पारे । उनले भने,‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु ठीक होइन् । सरकारले यो घट्नामा गम्भिर ध्यान दिएको छ । अनुशन्धान पनि जारी छ ।’

 

फरक प्रसँगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे । उनले भने,‘त्यसैको लागि प्रधानमन्त्रीले नेता तथा कार्यकर्तालाई संगठित हुनुपर्छ भन्नुभएको छ । प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो । यसलाई बंग्याएर बुझ्नुहुँदैन् ।’

प्रतिक्रिया दिनुहोस्