एन्फामा टासी घलेको पुनरागमन, फुटबल क्षेत्रमा उत्साह



काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि मानार्थ अध्यक्षको पदबी फिर्ता गरिएका टासी घलेलाई पुनः मानार्थ अध्यक्षमा नै मनोनयन गरेको छ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा गत मंगलबार बसेको कार्यसमितिको आपत्कालीन बैठकले उक्त निर्णय गरेको हो ।

एन्फाको विधानले फुटबल खेलको क्षेत्रमा अद्धितिय योगदान गर्ने व्यक्तिलाई फुटबल संघको मानार्थ अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । फुटबलको क्षेत्रमा अद्धितिय योगदान गरेको आधारमा एन्फाको मानार्थ अध्यक्ष हुने टासी घले पहिलो व्यक्ति हुन् ।

दुई वर्षअघि एन्फाको निर्वाचित नयाँ कार्यसमितिले मानार्थ अध्यक्ष बनाएपछि टासीले कार्यसमितिको काम कारवाहीप्रति असन्तुष्टि जनाएका थिए । गत माघ ३ गते एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट हटाएको थियो। एन्फाका कतिपय क्रियाकलाप प्रति असन्तुष्टि जनाएपछि घलेलाई पदबाट हटाइएको थियो । उनलाई पदबाट हटाइएको निर्णय प्रति खेल क्षेत्रसंग सम्बन्धित विज्ञ तथा खेलाडीहरूले सोही समयमा विरोध जनाएका थिए ।

‘संघका मानार्थ अध्यक्ष श्री टासी घले ज्यूलाई हालसम्म संघलाई पु¥याउनु भएको सरसल्लाह र सहयोगको निम्ति धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागू हुनेगरी मानार्थ अध्यक्षको पद ससम्मान फिर्ता लिइयो,’ माघ ३ को निर्णयमा भनिएको थियो ।

सो निर्णयविरुद्ध घले उच्च अदालत पाटन पुगेका थिए । फागुन १० मा पाटन उच्च अदालतले घलेलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको थियो । घलेद्वारा दायर गरेको उक्त मुद्दामा उच्च अदालतबाट अन्तिम फैसला गर्दै घलेलाई मानार्थ अध्यक्षको पदबाट हटाउने कार्य विधानसम्मत नभएको भन्दै पुर्नवहालीको सम्बन्धमा निर्णय गर्न निर्देशन दिएको थियो । अदालतबाट भएको सोही आदेशलाई अनुसरण गर्दै एन्फा कार्यसमितिको आपत्कालीन बैठकद्वारा घलेलाई पुनः मानार्थ अध्यक्षमा नै मनोनयन गरिएको हो ।

मानार्थ अध्यक्षमा मनोनयन भएका घलेलाई खेल क्षेत्र तथा विशेषत फुटबलको क्षेत्रमा सम्मानित व्यक्तित्वको रुपमा लिने गरिन्छ । घलेले सन् १९७६ देखि १९८६ सम्म नेपालको तर्फबाट राष्ट्रिय स्तरको फुटवल खेलाडीको रुपमा रही विभिन्न किसिमको प्रतियोगीताहरूमा भाग लिएका थिए । उनी फुटवल खेल तर्फ निरन्तर रुपले ‘ए’ डिभिजन क्लवको रुपमा रहेको मनाङ मस्र्याङदी क्लवको स्थापना गरी सो क्लवका संस्थापक अध्यक्ष हुन् ।

फुटबल तर्फ नै वि सं २०५१ देखि २०५८ सम्म अखिल नेपाल फुटबल संघ एन्फा को प्रथम उपाध्यक्ष भै सोही विचमा एशियन फुटबल महासंघको टेक्निकल कमिटि सदस्य, ८ औं सार्क गेममा रंगशाला मर्मत संयोजक, सातदोबाटो फुटबल संघको अध्यक्ष तथा एन्फा युवा कार्यक्रमको अध्यक्ष भै फुटबल क्षेत्रको विकासमा योगदान गर्दै आएका छन् ।

नेपालमा फुटबल क्षेत्रमा विकास गरेवापत अन्र्तराष्ट्रिय ओलम्पिक कमिटिबाट डिप्लोमा सर्टिफिकेट पनि उनलाई प्रदान गरिएको छ । फुटबल मात्रै नभई गल्फ खेलाडी समेत रही सन् २००२ देखि २०१० सम्म गल्फ खेलाडीको रुपमा रही सन् २०१३ देखि २०१७ सम्म नेपाल गल्फ संघको महासचिव तथा २०१७ देखि हाल सम्म अध्यक्ष रहेका छन् । मानार्थ अध्यक्षको रुपमा एन्फामा भएको घलेको पुनरागमनबाट फुटबल क्षेत्रमा उत्साह थपिएको खेलक्षेत्रसंग सम्बन्धित विज्ञ र खेलाडीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्