गुल्मीमा १२ र चितवनमा ३४ जना नयाँ कोरोना संक्रमित थपिए



गुल्मी : शुक्रबार बिहान गुल्मीमा १२ र चितवनमा ३४ जना नयाँ कोरोना संक्रमित व्यक्ति थपिएका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।

रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए ।

१२ जना संक्रमित थपिएपछि गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २ सय ५७ पुगेको छ ।

यसैगरी चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए ।

यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनकै रत्ननगर नगरपालिका–४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्