सार्वजनिक यातायात सञ्चालनमा ल्याउन सरकारले तयार पार्‍यो निर्देशिका



काठमाडौं : सरकारले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी निर्देशिका बनाएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो पारिए पनि सार्वजनिक यातायात सञ्चालनमा लगाइएको रोक कायमै छ । तर, लकडाउन खुलेको भोलिपल्टदेखि कार्यान्वयन गर्ने गरि निर्देशिका बनाइएको छ ।

निर्देशिकामा यात्रुबीच सामाजिक दूरी कायम गरि तथा भाडा असुलीमा सकभर नगद कारोबार नहुने गरि सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागिएको हो ।

निर्देशिका अनुसार सवारी साधन प्रत्येक खेपपछि निर्मलीकरण गर्नुपर्ने र यात्रुलाई अनिवार्यरुपमा स्यानिटाइजर उपलब्ध गराउनुपर्ने उल्लेख छ । तर, भाडाबारे भने केही उल्लेख गरिएको छैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले निर्देशिकाबारे यातातात व्यवसायी र यातायात मजदुरका प्रतिनिधिसँग सुझाव मागेको बताए । सावधानी अपनाएर लकडाउन खुलेको भोलिपल्टदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको उनले बताए ।

कोरोनाभाइरस (कोभिड–१९) महामारी फैलिँदो क्रममा रहेकाले लकडाउन कहिलेसम्म काम रहन्छ भन्ने एकिन छैन । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने लकडाउन हटाएको भोलिपल्टदेखि सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने भन्नेबारे निर्देशिका बनाएको छ ।

जसअनुसार सवारी साधनमा यात्रुबीच दूरी कायम गर्नुपर्नेछ, यसअघि जस्तो कोचेर राख्न नपाइने, यात्रुलाई सवारीसाधनमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा स्यानिटाइजर उपलब्ध गराउनुपर्नेछ भने प्रत्येक खेपपछि सवारी साधन निर्मलीकरण गर्नुपर्नेछ ।

निर्देशिकामा भाडा असुलीका लागि विभिन्न विकल्प अघि सारिएको छ । व्यवसायीले भाडाका लागि विद्युतीय भुक्तानीको व्यवस्था गर्नुपर्नेछ, नभए भाडा संकलन बाकस राख्नुपर्छ । तर, यात्रुसँग भौतिक सम्पर्क गर्न पाइनेछैन । सकेसम्म यात्रुसँग नगद कारोबार नगर्ने निर्देशिकामा भनिएको छ ।

यस्तै सवारी साधनभित्र हावाको वहावका लागि पंखा जडानदेखि डस्टबिन राख्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

देशभर साढे दुई लाख सार्वजनिक सवारीसाधन लकडाउनका कारण ग्यारेजमा थन्क्याइएका छन् । १० लाखभन्दा बढी यातायात श्रमिक कामविहिन छन् । यस्तो बेला लकडाउन खुलेको भोलिपल्टदेखि सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने भन्ने तयारी गर्नु आफैँमा सकारात्मक हो ।

प्रतिक्रिया दिनुहोस्