सिस्नेरी खोलामा पक्की पुल सञ्चालनमा



दाङ : दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गरे ।

प्रेमधन निर्माण सेवामार्फत रु २० लाख लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका पहाडी क्षेत्र बस्तीखोला, साउनी, बाघखोरलगायतका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

यसअघि त्यहाँ वर्षाका समयमा सवारी साधन आवातजावत ठप्प हुने गरेको थियो । पुल संरक्षणका लागि सोही खोलामा तटबन्धन समेत गरिने भएको छ । त्यसका लागि वडा नं ३ ले रु दुई लाख बजेट छुट्याएको छ ।

यसअघि सोही स्थानमा पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको वडा नं ३ बस्तीखोलाका आइतुराम विकले बताए । ‘वर्षामा भेल आउँथ्यो, पुल थिएन, त्यसैले आवतजावत गर्न पनि समस्या हुन्थ्यो’, उनले भने, ‘अहिले पुल बन्यो, सहजै आवतजावत गर्न सकिन्छ ।’

गाउँपालिकाले पहाडी क्षेत्रको सडक सञ्जाल विस्तारमा ध्यान दिएको छ । विकासको मुख्य आधार नै सडक भएकाले गाउँगाउँमा सडक सञ्जाल जोडेमा पहाडी क्षेत्रको विकासले फड्को मार्ने गाउँपालिकाका अध्यक्ष डाँगीको भनाइ छ । सबै गाउँमा कच्ची सडक पुगेको र अब तिनलाई पक्की बनाउनेतर्फ आफ्नो ध्यान गएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्