बाजुराको बुढीगंगामा ७६ जनामा कोरोना संक्रमण



बाजुरा : बाजुरामा आइतबार एकैदिन ७६ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै बाजुरको बुढीगंगा नगरपालिकामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।

टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २ सय ४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको मेयर शाहले बताए ।

यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३ सय ३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्