आजबाट हावा पश्चिम बहने, सलह त्यतै जाने अनुमान



काठमाडौँ : अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो कीरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।

मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।

सलह, फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा। केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्