भारतीय सेनासँग हिंसक भिडन्तपछि चिनियाँ सैनिकलाई मार्सल आर्ट प्रशिक्षण



बेइजिङ : आफ्नो सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ ।

आधिकारिक प्रतिक्रिया नजाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो ।

सन् १९९६ मा गरिएको सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटन पदार्थ बोक्न पाउँदैनन् ।

तर, गत महिना भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु र ७६ जना घाइते भएका थिए । हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण भने सार्वजनिक गरेको छैन ।

हङकङका सञ्चार माध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चार माध्यमले जुन २० तारिखमा उल्लेख गरेका थिए । सरकारी प्रसारक सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा पठाइएको हो ।

तर ती प्रशिक्षकले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले कुनै जानकारी सार्वजनिक गरेको छैन । आणविक हतियारसम्पन्न भारत र चीनबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भिडन्त भएको हो । उक्त घटनाप्रति दुवै देशले एक अर्कालाई आरोप लगाउंदै आएका छन् ।

प्रतिकूल मौसम रहेको उच्च हिमाली क्षेत्र अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रण रहिआएको छ । भारत र चीनबीच सीमामा लामो समयदेखि सीमाका कारण तनाव हुंदै आएको छ । तर सीमा झडप कै कारण भने चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु भएको हो ।

भारत र चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । भारतले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र चीनले ओगटेको आरोप लगाउंदै आएको छ ।

पछिल्लो समय चीनले नियोजित रुपमा सीमाक्षेत्रमा सैनिको उपस्थिति बढाउँदै लगेको भारतको आरोप छ । दुई देशबीच सीमा विवादबारे पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्