दाङमा पनि फेला पर्‍यो सलह किरा



काठमाडौं : शनिबार भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा दाङसम्म पुगेको छ । आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा सलह किरा देखिएको हो ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए ।

स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताए । ती सलह किराको समूह कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

कृषि मन्त्रालयले भने नेपालमा प्रवेश गरेका सलहको बथान सानो भएकाले यसले खासै क्षति नपुर्याउने भन्दै नआत्तिन किसानहरुलाई आग्रह गरेको छ ।

हावा जता बहन्छ, सलह किराहरु पनि उडेर त्यतै जाने गर्दछन् । सोमबारबाट हावा पूर्वबाट पश्चिमतर्फ बहने भएकाले सलह किरा पनि पश्चिमका जिल्लातिर जान सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्