जोखिम बढ्न नदिन सिरहामा सतर्कता



सिरहा : मनसुन सक्रिय भइरहेकै अवस्थामा स्थानीय खोला, नदी र वर्षाबाट आउने बाढीले यहाँ डुबानको जोखिम बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर सिरहा जिल्लाका सम्भावित बाढीग्रस्त क्षेत्रमा जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धारका लागि पूर्वसतर्कता अपनाउन थालेको छ ।

उद्धार समितिले विगतका वर्षहरूमा झैँ सिरहाका बलान, गागन, घुर्मी, बथाहा तथा कमला नदीले प्रभावमा पार्ने २५ वटा गाउँ डुबानको खतरामा पर्ने देखिएपछि ती स्थानमा गई बाढीको प्रकोपबाट जोगिन स्थानीय बासिन्दालाई मनसुनकै बेला पूर्वसतर्कता सम्बन्धी अभ्यास दिने गरेको छ ।

अभ्यासका क्रममा उद्धार समितिको टोलीले स्थानीयवासीलाई बाढीको समयमा कस्तो स्थानमा बस्ने, दैनिक आवश्यकताका वस्तु कसरी जोहो गर्ने, प्रकोपबाट घाइते भएको अवस्थामा कसरी उद्धार गर्ने र बाढीमा फसिहालेमा आफैँ कसरी निस्कने भन्ने विषयमा तालिमसमेत दिएको छ ।

जोखिममा परेका सबै गाउँको अवलोकन गरेर सम्भावित सबै उपायको खोजी गरी त्यहाँका स्थानीय बासिन्दालाई बाढीको प्रकोपबाट जोगिन पूर्वसतर्कता अभ्यास दिइएको हो, जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यस्तो अभ्यास गराए पनि अहिले जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिरहा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तहलाई आफूसँग भएको जनशक्ति र सामग्रीका साथ तयार भएर रहन परिपत्रसमेत भइसकेको छ । ” उहाँले दैवी प्रकोप व्यवस्थापनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी विभिन्न सरोकारवाला निकायलाई प्रकोप भएको अवस्थामा त्यसको व्यवस्थापन तथा उद्धारका लागि दैवी प्रकोप उद्धार कोष गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष कमला नदीको बाढीले सिरहामा देखाएको प्रकोपको पाठ सिक्दै कमला नदीको कमजोर तटबन्धीय क्षेत्रलाई समेत ब(िलयो बनाइसकेको उहाँले दाबी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजलाल यादवका अनुसार गत वर्ष कमला नदीले सिरहामा पर्ने पूर्वी बाँधको चतरी, बेल्हा र बसबिट्टाको सात स्थान भत्काउँदा सिरहाका तीन नगरपालिकाको कमला छेउका गाउँलाई तहसनहस पारेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्