विदेशमा अलपत्र नागरिकको उद्धार कार्य रोक्ने तयारीमा सरकार !



काठमाडौं : सरकारले विदेशमा अलपत्र नागरिकको उद्धार कार्य रोक्ने तयारी गरेको छ । कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र र समस्यामा परेका नेपालीलाई जेठ ३१ गतेदेखि उद्धार गर्न शुरु गरिएको थियो । तर, सरकारले यही १६ असारदेखि उद्धार कार्य रोक्ने तयारी गरेको छ ।

सरकार आफैँले प्राथमिकताको आधारमा विदेशमा अलपत्र परेका २४ हजार नेपालीको उद्धार गर्नेभन्दै सूची सार्वजनिक गरेको थियो । तर, त्यसको आधा नागरिक पनि फर्काउन नपाउँदै चार्टर्ड उडान रोक्ने तयारीमा सरकार रहेको छ ।

कोरोना व्यवस्थापन सेन्टरका प्रवक्ता नारायण बिडारीले अति जोखिममा परेका नागरिक फर्काइसकिएको र बाँकीलाई अहिले फर्काउन जरुरी नदेखिएको बताउँदै उद्धार कार्य रोक्ने तयारी भएको बताएका छन् ।

यता सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई निःशुल्क उद्धार गर्न दिएको आदेशलाई वेवास्ता गर्दै सरकारले सो तयारी थालेको हो । उद्धारका नाममा सरकारले दोब्बरभन्दा बढी भाडा असुल गरेको समाचार प्रकाशन र प्रशारण हुन थालेपछि सर्वोच्च अदालतले दुई साता अगाडि विदेशमा अलपत्र नेपाली नारिकको निःशुल्क उद्धार गर्न सरकारलाई आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशलाई अटेर गर्दै सरकारले उद्धार कार्यनै रोक्नउ तयारी गरेको हो ।

त्यसोत सरकारले जेठ ३२ गतेदेखि हालसम्म १२ हजारभन्दा बढी नेपाली नागरिक र ८७ वटा शव नेपाल ल्याइसकेको छ ।

भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका १२ हजार २ सय ५१ नेपाली स्वदेश फर्किएका छन् । आइतबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ सय जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाछ १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८ जना नेपाल फर्किसकेका छन् ।

यसैगरी माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, अष्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६, ओमनबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश आएका छन् । साथै सरकारदले मंगलबार थप २ हजारको मात्रै उद्धार गर्दैछ ।

यो अवधिमा विदेशमा विभिन्न कारण ज्यान गुमाएका ८७ वटा शव नेपाल ल्याइएको छ । हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । त्यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपाल ल्याएको तछ । यस अलावा १ सय २० वटा शव विदेशमै रहेका छन् ।

यता युएईमा नेपाल फर्किनका लागि १८ हजारले आवेदन दिएका छन् । त्यस्तै साउदी अरबमा १० हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार ८ सय, बहराइनमा १ हजार र ओमानमा ७ सयले आवेदन दिएका छन् । तर, सरकारले ३० मुलुकबाट २४ हजार १ सय ४८ जनालाई नेपाल फर्काइने सूची सार्वजनिक गरेको थियो । जसमध्ये मलेसियाबाट ६ हजार ४ सय २५, कतारबाट ३ हजार ६ सय ८, कुवेतबाट २ हजार ९ सय ९१, बहराइनबाट ३ सय ७२, युएईबाट ४ सय १०, साउदी अरबाट ३ हजार ३ सय १२, रियादबाट २ हजार १ सय ५२, जेद्धाबाट १ हजार १ सय १६ लगायत अन्य मुलुकबाट पनि नेपाल फर्काइने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्