नेपाल क्रिकेट संघद्वारा ४ वटा प्रतियोगिता कमिटी विस्तार



काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले ४ वटा प्रतियोगिता कमिटी विस्तार गरेको छ ।

यसअघि बनाएको कमिटीलाई विस्तार गरिएको क्यानले जनाएको छ । क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो ।

यस अघि क्यानले संयोजक चयन गर्दै ४ वटा कमिटी बनाएको थियो तर, कमिटीमा सदस्यहरु रहेका थिएनन् । प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्टलाई सदस्य राखिएको हो ।

संजय राज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ । रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन् ।

यस्तै मिडिया कमिटीमा भानुभक्त सिग्देल सदस्यको रुपमा छन् । यसअघि यो कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए । नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले ४ कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्