नागरिकता विधेयक विरुद्ध जलेश्वरमा मसाल जुलुस



जनकपुरधाम : समानता विरोधि विभेदकारी वैवाहिक अंगिकृत नागरिकता विधेयकविरुद्ध नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल महोत्तरीले जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा ‘नवीन’ र तरुण दलका जिल्ला सभापति विनयकुमार यादवको नेतृत्वमा शंकरचोकबाट शुरु भएको मसाल जुलुस महेन्द्रचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेविसंघका जिल्ला अध्यक्ष झाले सरकारले विभेदकारी नागरिकता विधेयक खारेज नगरे अझ कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने नेकपाको यो निर्णय असह्य रहेको बताए ।

प्रदर्शनमा सहभागीहरुले नागरिकता विधेयक खारेज गर, केपी ओली मुर्दावाद, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन, विभेदकारी नागरिकता खारेज गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य विजय राय, नेता निवेश मण्डल, नगर सभापति बादल कुमार साह, तरुण दलका छेदी चौधरी, कपिलदेव रिजाल, कांग्रेसका जिल्ला सदस्य प्रवेन्द्र पाठक लगायतकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्