वीरगञ्जमा पनि नागरिकता विधेयकविरुद्ध प्रदर्शन



वीरगञ्ज : सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयक खारेजी गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागितामा मंगलबार वीरगञ्जमा निकालिएको विरोध जुलुस महानगर परिक्रममा गरेको थियो ।

विरोध जुलुसमा सहभागिहरुले ‘नागरिकता संशोधन गर्न पाइदैन, विभेदकारी सविधान खारेज गर, केपी तेरो पाराले दुःख पायो साराले, नेपाल–भारत बीचको सम्बन्ध कायम गर्न, महिलामाथि हिंसा गर्न पाइदैन’ लगायतको नारा लगाएका थिए ।

जुलुस प्रदर्शन पश्चात घण्टाघर चौकमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले नागरिकता ऐन संशोधन विधेयक ल्याएर मधेस र मधेसीको सांस्कृतिकमाथि प्रहार गरी संस्कृति नै मेटाउने काम सरकारले गरेको आरोप लगाए ।

ओली सरकारले राजनीतिक अधिकार नदिई विदेशी महिलालाई गुलाम बनाउन खोजेको उनले बताए । ‘नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि चल्दै आएको छ, त्यहाँका भाषा, धर्म, संस्कृति समेत मेल खान्छ’, उनले भने–‘धेरै यस्तो जात छ, जुन नेपालमा कम छ, भारतमा बढी छ, आफनो संस्कृतिको लागि भारतमा विहे गर्न बाध्य छ तर ओली सरकारले विधेयक ल्याएर मधेसीको संस्कृति मिटाउने प्रयास गरेका छन् ।’

‘पहिला भारत वा नेपालका चेलीहरु त्यही पढे लेखेका हुँदैन थियो, विहे पनि १२ वर्षदेखि १४ वर्षसम्म हुन्थ्यो तर अहिलेको कानुन अनुसार २० वर्ष नाघेपछि मात्र विहे हुन्छ’, सांसद कर्णले भने–‘अहिले त हरेक गाउँटोलमा स्कुल छ चेलीहरु पढेलेखेका हुन्छ अहिले विहे भयो भने सात वर्षपछि नागरिकता पाउने प्रावधानले महिलालाई अधिकारबाट बञ्चित हुन्छन् । त्यसैले यस्ता विभेदकारी नीति ल्याउनु हुँदैन ।’

भारतले नै आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको प्रधानमन्त्री ओलीले लगाएको आरोप निराधार रहेको बताउदै सासद कर्णले भने–‘नेपाली सांसदले नै प्रधानमन्त्री बनाएको हो भारतले होईन त्यसैले भारतको खिस मधेसीमाथि निकाल्नको लागि नागरिकता संशोधन विधेयक ल्याउन खोजिएको हो ।’

मधेसी जनता आफनो अधिकारको लागि पुनः सडकमा उत्रन तयार रहेको छ, ओली सरकारले विधेयक फिर्ता नलिएर यसको परिणाम नराम्रो हुने उनले चेतावनी समेत दिए ।

विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले सविधानको मूल्य मान्यता र मर्म तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको संशोधन प्रस्तावले महिला अधिकारको हनन् हुनुका साथै नेपाल पक्ष राष्ट्र रहेको सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको पनि विरुद्धमा रहेको हुनाले यसलाई तुरुन्त खारेजी गर्नुपर्ने माग गरे ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सांसद रमेश पटेल, सिंहासन साह कलवार, जन्नत अंसारी, पार्टीका केन्द्रीय सदस्य पुरुषोत्तम झा, निजामुदीन समानी, जिल्ला नेता सुन्दर कुर्मी, ओम प्रकास सर्राफ, महिला नेतृ मुन्नी श्रीवास्तव, रेखा साह, रम्भा मिश्रा, जिल्ला सचिव तवरेल अहमद लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी जसपाका अर्का जिल्ला अध्यक्ष राजेशमान सिंह नेतृत्वमा रहेकाले वीरगन्जमा नागरिकता विधेयकको विरोधमा जुलुस प्रदर्शन गरेको थियो । वीरगञ्जको स्विमिङ्ग पुल परिसरबाट निकालिएको विरोध जुलुस महानगरपरिक्रममा पश्चात घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी, पार्टीका नेता शशिकपुर मियाँ, महिला नेतृ करिमा वेगम, लगायतकाले सम्बोधन गर्दै नागरिकता विधेयक ल्याएर सरकारले फेरी मधेसमा सदभाव बिग्रारी, नेपाल भारत बीचको रोटीबेटी सम्बन्धन बिर्गान खोजेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्