ओलीको बचाउमा मध्यराति मन्त्रीका ट्वीट



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षसहित सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागेपटि नेकपाभित्रको शक्तिसंघर्ष नयाँ चरणमा प्रवेश गरेको छ ।

एक साताअघि शुरु भएको स्थायी कमिटी बैठकमा नियमित एजेण्डामा छलफल भइरहेका बेला पछिल्लोपटक आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीमा त्यसमाथि चर्को प्रतिक्रिया आएको हो ।

सरकारले दुई विवादस्पद अध्यादेश जारी गरेपपछि गत वैशाख तेस्रोत साता नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार एवं नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदीले मध्यरातमा ट्वीट गरेका छन् ।

मंगलबार राति १ बजेर ३ मिनेटमा कृषिमन्त्री घनश्याम भुसालले ट्वीट गर्दै लेखेका छन्–‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेह र धैर्यको परीक्षा दिनुपर्ने भये ! नहडबडाए, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्–‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेराैं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’

पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्–‘एमालेमा कहिले पस्ने ? म त्यहीँ छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’

उनको अर्को स्टाटस छ-‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट शृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

यता गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार एवं नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदीले लेखेका छन्– ‘उत्तेजना, आवेग र क्षणिक लाभहानि होइन । दीर्घकालीन हित र लक्ष्यलाई अगाडि राखेर एकताबद्ध भएर संश्लेषण गर्नु नै अहिलेको आवश्यकता हो ।’

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्