चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन प्रभु साहको माग



कलैया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारामा चट्याङ लागेर मृत्यु भएका ४ जना महिलाको परिवारलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बिहान बाराको कलैया उपमहानगरपालिकाको सितलपुर र फेटा गाऊँपालिका त्रिवेणीमा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ ।

अध्यक्ष साहले कोरोना महामारी एवं लकडाउनसँगै लगातार भिषण हावाहुरी र असिना पानीले जनता हैरान बनेको र चट्याङबाट थप पीडित हुनुपरेको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । साथै घाइतेलाई उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चट्याङ लागेर फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतो तथा कलैया उपमहानगरपालिका सितलपुरको ३५ वर्षीया आसादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्