ड्रिम स्मार्ट सिटी कि दुर्गन्धित सिटी ?



जनकपुरधाम– बजारको छेउ, सडकभरि विस्कुट, चाउचाउको खोल, पानीका खाली बोतल अनि सडकका नालामा ढल । स्मार्ट सिटीको आशमा बसेका जनकपुरधामबासीको दिन दिनको समस्या हो यो ।

ड्रिम स्मार्ट सिटीको, रियालिटी दुर्गन्धित सिटी ।

लामो समयदेखि जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ ।

उपमहानगरपालिकाले नगरभित्रको सरसफाइमा ध्यान नदिएकोले प्राचिन मिथिलाको राजधानी जानकी नगरि कुरूप र दुर्गन्धित बनेको हो । फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि नगरवासीले सडक किनारमा फोहोर फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहरसमेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको देखिएको छ ।

जनकपुरधामको प्रमुख चोकहरु पुरानो बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पूलचोक सहितका स्थानहरुमा विहानै फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिएको हो ।

जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले शहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए । उनले भने– ‘शहरको सन्दरतासँग मेयर साहबलाई कुनै मतलब छैन,वहाँ त कमिसनमै व्यस्त र मस्त हुनुहुन्छ । बस र जेसिबी किन्न पैसा छ तर नगरलाई सुन्दर बनाउने कुनै योजना नै छैन ।’

जनकपुरधाम उपमहानगरपालिकामा आफूहरुले बारम्बार बोर्ड बैठकमा २५ वटै वडाको लागि ट्रयाक्टर खरीद गर्न आग्रह गर्दा समेत मेयरले ध्यान नदिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

यता उपमहानगरपालिकामा समावेश गरिएको ९ वटा वडाहरुको समेत हरिबिजोग छ । वडा नम्बर–२१ कुर्था, वडा नम्बर–२२ बसबिट्टी, वडा नम्बर–१७ कनकपट्टी, वडा नम्बर–२० देवपुरा रुपैठा र वडा नम्बर–२४ बसहिया लगायतका वडाहरु अहिले हिलाम्य बनेको छ । उक्त वडाहरुमा आवत जावत गर्न समेत समस्या हुने गरेको स्थानियको गुनासो छ । बारम्बार सम्बन्धीत वडाका वडाध्यक्षहरुलाई खवर गर्दा समेत कुनै ध्यान नदिएकोप्रति स्थानीय आक्रोशित छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा अहिले ७३ जना सफाइ कर्मचारी र सफाइका लागि दर्जन बढि ट्रयाक्टर र टिपर रहेपनि नगर सरसफाइको नाममा कुनै काम हुन नसकेको स्थानीय सुभाष कर्णको दुःखेसो छ ।

बर्षौदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले ब्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाई भने अहिलेसम्म पनि भएको छैन । स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको ब्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताए ।

स्मार्ट सिटीको परिकल्पना गरेको जनकपुर बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि उपमहानगरपालिकाको ध्यान नगएको बताउँदै अर्का स्थानीय रमेश अधिकारीले भने,‘ मेयर साहबले स्मार्ट सिटी बनाउँछु भन्थे जनकपुरलाई । अहिले यो शहर फोहोरको सिटी बन्दै गईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्