बेलाकुट्टीको जग्गामा अवैध निर्माण कार्य भईरहेको भन्दै स्थानीयद्वारा बिरोध



जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित गूठी संस्थान अधिनस्थ राम जानकी दुलहा भगवान् मन्दिर (बेलाकुट्टी) को जग्गामा अवैध निर्माण कार्य भईरहेको भन्दै जिरोमाइलका स्थानीय टोलबासीले निर्माण कार्यको बिरोध गर्दै चक्काजाम गरेका छन् ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले गैरकानुनी रूपमा पर्खाल निर्माण कार्य गरिरहेको भन्दै जग्गा अतिक्रमणकारी र भुमाफियालाई अविलम्म पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

जनकपुर युथ क्लवका पूर्व अध्यक्ष चन्दन रायले भने,‘अघोषित लकडाउनको मौकाछोपी भूमाफियाहरु सक्रिय भएका छन् । केन्द्रिय गुठीले क्रमशः ३८ बर्ष र ५ बर्षको सम्झौता गरि एउटै कित्ता दुईवटा संस्थाको नाममा दिएको थियो । यता निर्माण कार्य रोक्नका लागि गूठी संस्थान जनकपुर शाखाद्वारा पत्र काटिएपनि प्रशासनकै संरक्षणमा बलजफ्ती निर्माण कार्य जारी रहेको थियो ।’

मन्दिरको संरक्षण र उपभोगमा रहेको एउटा ८ बिघा ४ कठ्ठा र अर्को ७ बिघा गरी दुई कित्तामा रहेको १५ बिघा ७ कठ्ठा जग्गामध्ये अधिकांश जग्गा अतिक्रमित भइसकेको उनले बताए । मन्दिरको जग्गामध्ये मासिक प्रतिबिघा ४ हजार रुपैयाँको दरले ४ बिघा जग्गा बसपार्कले भाडामा लिएको छ भने ४ कठ्ठा जग्गा जनकपुर–जलेश्वर सडकमा परेको छ । त्यसबाहेक करिब ९० प्रतिशत जग्गा अतिक्रमणको चपेटामा परेको चन्दनको दाबी छ ।

यसअघि बेलाकुट्टीको नाम दर्ता रहेको कित्ता नम्बर ५६८ र ३०९ को ५ बिघा १० कठ्ठा जग्गामा गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले गुठी संस्थानको अवैध सम्झौताको आधारमा नवनिर्माण गर्न लागेको उक्त निर्माण कार्य रोक्का गर्नका लागि जग्गा संरक्षण संघर्ष समितिका बैजनाथ चौधरीले गुठी संस्थानको जनकपुरस्थित शाखा कार्यालयमा निवेदन समेत दिएका थिए ।

गुठी संस्थान प्रधान कार्यालयबाट २०७४ जेठ १४ गते गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानलाई साविक बिन्धी गाविस वडा नम्बर–२ स्थित कित्ता नम्बर ३०९ को जग्गा मध्ये ५ विघा १० कठ्ठा जग्गा करार सम्झौता गरि ३८ बर्षका लागि भाडामा दिएको र सोही जग्गा मध्ये १ विघा ११ कठ्ठा १० धुर जग्गा बहाल सम्झौता गरि ५ बर्षका लागि भाडामा दिने गरि गुठी संस्थान प्रधान कार्यालयबाट विश्व भारती फाउण्डेशनको नाममा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्