कञ्चनपुरको नहरमा युवायुवतीले हाम्फाले, युवक बेपत्ता



महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगरमा युवायुवतीले नहरमा हाम फालेका छन् ।

आज बिहान करिब ११ बजेतिर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.१ भाँसीको नहरमा उनीहरुले हाम फालेका हुन् ।

भीमदत्त नगरपालिका वडा नं.२ उल्टाखामका २३ वर्षिय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा सँगै हाम फालेका थिए ।

स्थानीयले उनीहरुलाई हाम फालेको देखेपछि उद्दार गर्दा युवती भेटिए पनि युवक भने भेटिएका छैनन् । नहर भएर गइरहेका बेला उनीहरुले हाम फलेको स्थानीय सुनिल चौधरीले देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेका थिए ।

उनले भने,‘पानीमा टाउको मात्रै देखिएको थियो, मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १०-१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताइन् तर खोज्दैछौं अहिलेसम्म भेटिएको छैन ।’

युवतीको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ । भीमदत्त नगरपालिका वडा नं.१ का वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु)ले नहरको पुलमा बसेका युवायुवतीले एक्कासीसंगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

उनले वेपत्ता युवकको खोजी कार्य भैरहेको जानकारी दिएका छन् । उनका अनुसार युवक नेपाली सेना र युवती ओभरसेर अध्ययन गर्दै आएका थिए । दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । प्रहरीले वेपत्ता युवकको खोजी भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्