प्रदेश २: मास्क प्रयोग नगर्ने ४६४ जना कारवाहीमा



जनकपुरधामः प्रहरीले कोरोना महामारी फैलिरहेको बेला मास्क प्रयोग नगर्नेहरुमाथि कडाई गरेको छ ।

बिना मास्क मोटरसाइकल चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीसहित प्रदेश २ का पाँचवटा जिल्लामा आज (सोमबार) ४ सय ६४ जनालाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडिएको छ ।

प्रदेश २ का सबै जिल्लाहरुमा सयौं संख्यामा प्रहरी परिचालन गरि मोटरसाइकल, साईकल,पैदल र रिक्सामा बिना मास्क हिडिँरहेका व्यक्तिलाई मास्क लगाउन आग्रह गर्दै मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाइएको थियो ।

कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

प्रहरी नायव उपरीक्षक मिश्रले बिना मास्क मोटरसाइकल चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीसहित प्रदेश २ का पाँचवटा जिल्लामा ४ सय ६४ जनालाई नियन्त्रणमा लिइ संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको बताए । मास्क प्रयोग नगर्ने उनीहरूलाई संक्रामक रोग ऐनअनुसार प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको उनले बताए ।

बिना मास्क लगाएर घर भन्दा बाहिर सडक, बजार तर्फ आउने सवारी चालक र पैदल यात्रुहरु कारवाहीमा परेकोमा सबैभन्दा बढी धनुषामा १ सय ६० जना रहेका छन् । त्यस्तै पर्सामा १ सय ७ जना, बारामा १ सय २ जना, सप्तरीमा ५० जना र सर्लाहीमा ४५ जना कारवाहीमा परेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास बढेको भन्दै प्रत्येक जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिहरुले यस्तो निर्णय गरेको हो । आजदेखि घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन समितिले आग्रह गरेको हो ।

सरकारले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आज नै निर्देशन दिएको थियो ।
सोमबार दिउँसो गृह मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र गर्दैस्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्