पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ



गोरखा : ललितपुरको पाटन अस्पतालमा सोमबार राति मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले टेलिफोनमा बताए ।

अस्पताल भर्ना भएलगत्तै नमुना संकलन गरिएको थियो । उनको सोमबार राति नै मृत्यु भएको र कोरोना रिपोर्ट पनि पोजेटिभ आएको उनले बताए । अहिले उनको शव व्यवस्थापनको प्रक्रिया पनि सुरु गरिएको उनले बताए ।

भिमसेन थापा गाउँपालिका–२ घर भएका ती युवाले शनिबार झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । छिमेकीले देखेपछि पासो काटेर अर्धचेत अवस्थामा रहेका उनलाई घ्याम्पेशालको मनास्लु हस्पिटलमा उपचारका लागि ल्याएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । घ्याम्पेशालमा सामान्य उपचारपश्चात थप उपचारका लागि ललितपुरको पाटन अस्पताल रिफर गरिएको उनले बताए ।

स्वास्थ्य शाखाका अनुसार उनको रिपोर्ट प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको काम अघि बढाउने तयारी छ ।

प्रकाशित : असार २३, २०७७

प्रतिक्रिया दिनुहोस्