‘सुरक्षित क्वारेन्टाईन मेरो अधिकार’ भन्दै जनकपुरमा युवाहरुको प्रदर्शन



जनकपुरधामः तिनै तहको सरकारको गतिविधिप्रति असन्तुष्ट जनाउँदै जनकपुरका युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

इनफ इज इनफ अभियान अन्तर्गत उनीहरुले स्थानीय जनकचोकमा भ्रष्टाचारसँगै आपराधिक क्रियाकलाप समेत बढेको भन्दै प्रदर्शन गरेका हुन् । कायापलटको आयोजना एवं ओरेक नेपाल र मोर्डन मिथिलाको सहकार्यमा आयोजित कार्यक्रममा स्वतन्त्र युवाहरु समेत सहभागी थिए ।

लकडाउनमा भोकले सर्वसाधारणजे ज्यान गुमाउनु परिरहेको, महिला हिंसा बढेको, क्वारेन्टाईन व्यवस्थापनमा सरकार जिम्मेबार नभई मौन बसेको, भ्रष्टाचार बढेकोलगायतका विषयहरु उठाउँदै युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी युवा अभियन्ता कैयुम राईनले भने,‘लकडाउनका कारण विभिन्न प्रकृतिका हिंसाहरु बढ्दै गएपछि हामीले त्यस विरुद्ध शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छौं । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि जनताको सुरक्षाभन्दा भ्रष्टाचारमा लागेकोले प्रदर्शन गर्नुपरेको छ ।’

उनले भने,‘महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन मात्र गरेको छ तर लकडाउनले उकुस मुकुस भएका आम नागरिकको समस्या समाधानमाथि कुनै ध्यान दिन सकेको छैन् ।’

सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेकोले सडक प्रदर्शन मार्फत आफ्नो आवाज राखेको अभियन्ता राईनको भनाई छ ।

प्रदर्शनमा ओरेक नेपालको तर्फबाट रोजलिन सरद बच्छार, महिला मानव अधिकार सञ्जालको तर्फबाट इन्दिरा चौधरी, इन्सेकका राजु पासवान जमुना भुजेल, शुभद्रा आले लगायत ३० जना भन्दा बढि स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्