बाढीपहिरोको वितण्डा : प्रदेश २ का ८ वटै जिल्ला डुबानमा



जनकपुर : दुई दिनदेखि परेको लगातारको वर्षाले प्रदेश २ का ८ वटै जिल्ला डुबानमा परेका छन् । प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेसँगै रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् ।

प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बनेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने कोसी नदी पनि उफानमा छ ।

यसैगरी बिहीबार रातिको वर्षाले रौतहटको चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का खण्डमा बाढी पसेपछि शुक्रबार बिहान ४ बजेदेखि सवारी आवागमन प्रभावित भएको छ । बाढीले बगाउने खतराका कारण रोकिएका गाडीलाई सुरक्षाकर्मीले वारपार गराएका छन् । रौतहटको दक्षिणी क्षेत्र डुबानमा पर्ने त्रासमा स्थानीय छन् । पानीको निकास नहुँदा उत्तरी भेगका केही गाउँ पनि डुबानमा परेका छन् ।

महोत्तरीका १५ स्थानीय तहमध्ये दक्षिणी भेगका १४ स्थानीय तह उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उत्तरतर्फको बर्दिवास नगरपालिकामा भने किसाननगर, पशुपतिनगर, विजलपुरालगायतका स्थानमा मात्र बाढी र डुबानको समस्या छ ।

जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने अस्थायी बासस्थान पहिचान गरिएको र खोज उद्धारका सामग्री खरिद गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यहाँ १९ हजार ७ सय ८८ घर उच्च जोखिममा छन् । महोत्तरीको रातु, जंगाहा, मराहा, बाँके, बिगही, बक्सीलगायत नदीको बाढीले बर्सेनि जनधनको क्षति पु¥याउने गरेको छ ।

यता शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्यूनीकरणका लागि तयारी बस्न र आवश्यक सामग्री तत्कालै उपलब्ध गराउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्