म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १८ पुग्यो



म्याग्दी : अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । ३ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले बताएको छ ।

धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ को बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । मराङमा १० जना र बिममा आठ जनाको शव भेटिएको हो ।

मराङमा पहिरोमा पुरिएकामध्ये रिखामा बेपत्ता भएकाहरुमध्ये सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी गरी १० जनाको शव भेटिएको हो ।

यस्तै बिमको पहिरोमा पुरिएकामध्ये विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, र उनका तीन महिनाको छोरा तथा विष्णु नेपाली र सन्दीप नेपाली गरी आठ जनाको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

यसैगरी पहिरोको उच्च जोखीममा भएका २ सय २० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

सघुगंगा गाउँपालिका–३ गलेश्वर राहुँघाट खोला नजिकका २१ घरधुरीमा ८५ जनालाई गायत्री मन्दिरमा, धवलागिरी गाउँपालिका–६ कल्लेनी जहरेका ८९ जनालाई धौलागिरी ७ शिवाङ्गस्थित हेम माध्यमिक विद्यालयमा ५० जना र अन्य २९ जनालाई आफन्तकोमा सारिएको छ ।

त्यस्तै गाउँपालिका–५ र ६ का ९ घरका ४६ जनालाई जनप्रिय माध्यमिक विद्यालय दरबाङमा सारिएको प्रहरीले बताएको छ ।

अहिले पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम भइरहेको छ ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्