भारतमा कोरोनाले २४ हजारभन्दा बढीको मृत्यु, एकै दिन २९ हजारभन्दा बढी संक्रमित



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा मृतक संख्या २४ हजार ३१५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको छ ।

६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ ।

त्यसमध्ये २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो एक हप्ता यता संक्रमितको संख्या भारतमा अस्वाभाविक तवरले बढ्दै गएका छन् । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्