श्रीकृष्ण जन्माष्टमीको अवसरमा नम्रताकाे जाइरा रिलिज हुने



काठमाडौंः नायिका नम्रता श्रेष्ठलाई ‘मिक्स मार्सल आर्ट खेलाडी’को भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘जाइरा’ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी वर्ष अर्थात् २०७६ को भदौ ६ गते रिलिज हुने भएको छ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्मले एक महिलाले लिने प्रतिशोधको कथालाई देखाउनेछ । फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ । 

नम्रताले फिल्मका लागि कपाल काट्नेदेखि आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी छन् । ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ । कपाल काटे । ६ महिना एक्सन सिकें । मेरो मेहनत दर्शकले मूल्यांकन गर्नुहुनेछ।'

फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रस्तुतिमा बनेको फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माता छन् । फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व कोरियोग्राफी, केशव थापाको नृत्य र बाबु श्रेष्ठको डीओपी छ।

प्रतिक्रिया दिनुहोस्