मुख्यमन्त्री लालबाबु राउतद्वारा स‌ंविधान दिवस बहिष्कार



जनकपुरधाम : पटक–पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता जनाएनन् ।

संघीय सरकारको परिपत्रअनुसार प्रदेश सरकारका कर्मचारीले व्यवस्थापन गरेको वृक्षरोपण कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू कोही पनि सहभागी नभएका हुन् । प्रदेशमा रहेका सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृक्षरोपण गरिएको छ ।

 

प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यालयमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय दिवसको अवसरमा कार्यालयमा ५० वटा बिरुवा रोपिएका छन् । संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बनेका राउतले राष्ट्रिय दिवसमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रदेश सरकारको सत्ता सहयात्री राष्ट्रिय जनता पार्टी (राजपा) ले औपचारिक रुपमै संविधान दिवस नमनाउने घोषणा गरेको थियो । समाजवादी फोरमको केन्द्रले संविधान दिवस मनाउने भने पनि प्रदेशस्तरीय नेतृत्वले नमनाउने निर्णय गरेको थियो ।

 

दिवस मनाउने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीदेखि सबै मन्त्रीलाई जानकारी गराइ पनि कसैको सहभागिता नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताए । कर्मचारी र सुरक्षाकर्मीले मनाएको दिवस कार्यक्रममा प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहले शुभकामना दिएका छन् ।

 

मुख्यमन्त्री राउतले दिवसको अवसरमा शुभकामना सन्देश पनि दिएनन् । मुख्यमन्त्री कार्यालयले हरेक चाडपर्व र विशेष दिनमा शुभकामना सन्देश जारी गर्ने गरेको भए पनि राष्ट्रिय दिवसमा शुभकामना सन्देश पनि जारी गरेन । प्रदेश सरकारले दिवसको अवसरमा अरु कार्यक्रमसमेत आयोजना गरेको छैन ।

 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सरोजसिंह कुशवाहले प्रदेशमा विरोध कार्यक्रम रहेका कारण सरकारको ध्यान शान्तिसुरक्षा कायम गर्नतिर रहेको बताए । ‘राजपा र सिके राउत समूहले विरोध कार्यक्रम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश सरकारले शान्ति सुरक्षा कायम राख्न ध्यान दिइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्