किशोरी बलात्कार गरेको आरोपमा कालिकोटका वडाध्यक्ष शाही पक्राउ



कालिकोट : किशोरी बलात्कार गरेको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधीश शाही पक्राउ परेका छन् ।

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा परेको उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

पक्राउ परेका शाहीविरुद्ध जबरजस्ती करण मुद्दा दर्ता भएको डीएसपी ओलीयाले बताए ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीका अनुसार वडाध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै पक्राउ गरिएको हो । पक्राउ परेका शाहीसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको बताएका छन् ।

सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुनै अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको बताएको प्रहरीको भनाइ छ ।

वडा अध्यक्ष शाहीसँग २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनका बेला चिनजान भएको पीडित किशोरीले बताएकी छन् ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्