त्रिभुवन आर्मीलाई झापा गोल्डकपको उपाधि 



काठमाडौं : चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीलाई जिताउन सन्तोष तामाङले २ तथा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे  । झापाका भिक्टर, फ्रान्सिस र योगेश गुरुङले एक–एक गोल फर्काए । योसंगै आर्मीले लगातार दोस्रो पटक झापालाई हराएर उपाधि जितेको छ ।

झापा भने पुनः उपाधि जित्नबाट बन्चित भएको छ । गत संस्करणको फाइनलमा पनि झापालाई हराउँदै आर्मीले उपाधि जितेको थियो । उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेता बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझायो ।

झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित ‘स्ट्राइकर’ कर्ण लिम्बू, डिफेण्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो ।  

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’का रुपमा झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । ‘बेस्ट डिफेन्स’ झापाकै देवेन्द्र तामाङले २१ हजार, ‘राइजिड प्लेयर’ निशान्त खड्काले १५ हजार, ‘बेस्ट कोच’ आर्मीका चुनबहादुर थापाले २१ हजार, ‘बेस्ट किपर’ विकेश कुथुले २१ हजार र ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए । 

त्यस्तै सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए । ‘बेस्ट मिडफल्डर’ झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्